काठमाडौँ —मेलम्चीको बाढीमा बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री ‘गड्स बफ्यालो’ सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको छ । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनोटमा परेको यो डकुमेन्ट्रीले ‘किम्फ’मा उत्कृष्ट डकुमेन्ट्री र ‘उत्कृष्ट ईसीमोड माउन्टेन फिल्म’ जितेको थियो ।
१४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरु ‘एनिमल फ्याबुला’, ‘वनअर्थ अवार्ड’, ‘कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल’मा छनोटमा परेको छ । २१ अप्रिलदेखि काठमाडौंमा सुरु हुने ‘फिल्म साउथ एसिया’मा पनि यो डकुमेन्ट्री छनोटमा परेको छ ।
निर्देशक विष्णु कल्पितले मेलम्चीमा रिपोर्टिङमा जाँदा यो डकुमेन्ट्रीलाई खिचेका थिए । ‘मेलम्ची पुग्दा त्यहाँ स्थानीयले हाम्रो प्रेसको गाडीलाई रोक्यो । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैंसीलाई बचाउनेले एक लाख मागेको देखें । त्यही भैंसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालें । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ । डकुमेन्ट्री नै बनाउने सोचेको भए, अर्कै तरिकाले खिच्थें,’कल्पित सुनाउँछन्,’त्यहाँ भिमसेन माझीले एक लाख मागिरहेको थिए । होमानसिंहसँग त्यति पैसा थिएन । अर्कै भाइ त्यो भैंसी आफू लैजान खोज्दै थियो । मैले स्टोरीमा ट्वीस्ट देखेर खासमा भिडियो खिचेको थिएँ ।’