गणतन्त्र दिवसलाई भव्य बनाउने सरकारको योजना

काठमाडौँ । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ ।

विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सदस्य तथा गृह सचिव सदस्य सचिव रहेका छन् ।

समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ १४ गते सञ्चारमाध्यममार्फत गणतन्त्र दिवसकेन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामूलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकाशनरप्रसारण गरिने छ ।

सोही दिन सबै जिल्लाहरुमा सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदान कार्यक्रम आयोजना गर्नेछ भने सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाई र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् ।

जेठ १४ गते नै विभिन्न आन्दोलन आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरुलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकूद सामग्री वितरणलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

जेठ १५ गते सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिने छ भने सबै सरकारी कार्यालय, महत्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा आम जनताका घरघरमा साँझ दीपावली भर्न आव्हान गरिने मन्त्री शर्माले जानकारी दिइन ।

गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरुमा पठाउने कार्यक्रम तय गरिएको छ । जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ ।

नेपाल सरकारले सबै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको नेपाल सरकारका प्रवक्ता शर्माले जानकारी दिइन ।

‘तिनै तहका सरकारले गणतन्त्र दिवस भव्य बनाउने छन्’– प्रवक्ता शर्माले भनिन् ‘यसपटक सामान्य दिवसको रुपमा मात्र नभई पन्ध्र वर्षको समीक्षा र आगामी रोडम्यापसमेत झल्कने गरी दिवस मनाउने तयारी गरिएको छ ।’

नेपाल सरकारले पन्ध्र वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने तयारी पनि थालेको छ । जेठ १६ गते साँझ टुडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ ।

Comments are closed.