Trending Now

सरकारको निर्देशन- आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्नू

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यात्रुका आफन्तलाई यकिन जानकारी दिन विमानस्थलमा कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए ।

सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ ।

आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी (क्याप्टेन) दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ ।

दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको छ ।

Comments are closed.