काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्याउन सरकार असफल भएको बताउनुभएको छ ।
रास्वपा काठमाडौं क्षेत्र नम्बर-२ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुर्याउन नसकेको बताउनुभयाे । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि सरकारले पहिलो देखि दोस्राे पाना पल्टाउन नसकेको उहाँले बताउनुभयो ।
सभापति लामिछानेले आगामी चुनावपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पानादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरी कारबाही गर्ने दाबी गर्नुभयाे ।
रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न समेत उहाँले चुनाैती दिनुभयाे । नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने सभापति लामिछानेले दाबी गर्नुभयाे । नेपाली जनताको हित र मुद्दामा रास्वपाले कुनै सम्झौता नगर्ने दाबी पनि उहाँले गर्नुभयाे ।
सभापति लामिछानेले कोशी प्रदेशमा महागठबन्धन बनेसँगै अब सैद्धान्तिक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको जिकिर गर्नुभयाे ।