इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौजना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन्।

दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो। त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए।

कारमा भएको दोहोरो हमलामा उनीहरूको मृत्यु भएको अल–सादीले बताए। घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिका वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ।

आतङ्कवादी समूह इस्लामिक स्टेट आइएसका केही अवशेषहरूले समयसमयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन्। उनीहरू दियाला प्रान्तको पूर्वी भाग र प्रान्तको उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा सङ्गठित भएका छन्।