आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं । शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरु नानकको जन्म १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।

गुरु नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्नुभएकाे बताइन्छ । उहाँले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभाव अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले विना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने लंगर परम्पराको थालनी गरेकाे बताइन्छ । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभएकाे थियाे ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइँदैछ । पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइँदैछ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ  ।