हिमालयन ट्राभल मार्ट सम्पन्न, २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो ।  मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।

मार्टको एक कार्यक्रमकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। आयोजक संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

मार्टमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाएका थिए । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताको प्रस्तुति रहेको थियो
कोरोनापछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहयोग पुर्याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले विशेष सत्रसमेत सञ्चालन गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मार्टको समापन गर्दै भव्यरूपमा सञ्चालन भएको मार्टले नेपालको पर्यटन प्रवर्द्धनका साथै समग्र हिमालय क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।