इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

 

काठमाडौँ — इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान ः  प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पुस्तकमा ‘प्राचीन सिन्धुघाटी सभ्यताको उदय र अन्त्य’, ‘प्राचीन गाङ्गेय सभ्यताको प्रारम्भ’, ‘प्राचीन किरातको उद्भव र प्रसार’, ‘प्राचीन नेपालको इतिहास र भूगोलमा भ्रम’ शीर्षक आलेख समेटिएका छन् । यसैगरी ‘लिम्बु सुभा–हाङको ऐतिहासिक रूपरेखा’, ‘विवाह प्रथामा सानीआमा बेहोर्ने लिम्बु र अझ अरू’, ‘सेन–शाहको नक्कली पत्रले लिम्बुमा उब्जाएको भ्रम’ र ‘सात सालमा मुक्तिको अर्को प्रयास र लिम्बुवान’ आलेख रहेका छन् ।

 

८२ वर्षीय नेम्बाङ २०१७ सालको सशस्त्र क्रान्तिका एक योद्धासमेत हुन् । नेम्बाङको यसअघि ‘सात सालको क्रान्तिको सम्झना, …स्मृतिमा बीपी आन्दोलन’,आक्षेप र पाठक प्रतिक्रिया’र  …डायरीमा बेलायत’ कृति प्रकाशित छन् ।

 

पुस्तकबारे काइँलाले अहिले नेपालको इतिहास निष्पक्ष नभएको बताए । इतिहासकारले तटस्थ भएर लेखेनन् । अरुले लेखेको विषयलाई आफूअनुकूल बनाएर लेख्ने र छाप्ने गरेका छन्,’ साइनोले भाइ कृष्णविक्रमको अध्ययनशीलताबारे चर्चा गर्दै काइँलाले भने, ‘हाम्रो सन्तानमा एउटा पुस्तक सन्दर्भ स्रोतका रूपमा आएको छ । यो पुस्तकले इतिहासको नयाँ पक्षलाई उजागर गरेको छ ।’ मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकबारे कमल मादेन, डीबी आङबुङ, खगेन्द्र माखिम र टेक लावतीले चर्चा गरेका थिए ।