आजदेखि मिथिलाञ्चलमा होली पर्व सुरु

काठमाडौं –– आजदेखि मिथिलाञ्चलमा होली पर्व सुरु हुँदै छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व सुरु हुने छ । बुधबार ध्रुवकुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा गर्ने यात्री कञ्चनवनका लागि प्रस्थान गरेका छन् ।

त्रेतायुगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ खेलेका थिए । त्यही दिनको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरू कञ्चनवन पुगेर स्थानीय र साधु सन्तसँग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता छ ।

धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली साताैँ दिन घ्रुवकुण्ड पुगेको थियो । आजको विश्रामस्थल कञ्चनवन रहेको छ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो ।

त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।