होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान

काठमाडौ ।
अनेसास शिखर पुरस्कार, दोहा, कतारले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्‍यो । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । नगद ३३,३३३/- राशिसहित सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित कार्कीलाई सम्मान गरिएको थियो ।

कान्तिपुरमा आवद्ध कार्कीको सनैया उपन्यास प्रकाशित रहेको छ भने यस अगि नवोदित अवार्डबाट पनि सम्मानित भइसक्नु भएको छ । मकवानपुरका कार्कीले कतार बस्दा पुर्‍याउनु भएको योगदानको लागि यो पुरस्कार प्राप्त गर्नु भएको हो ।

२०७७ सालमा स्थापना गरिएको यस पुरस्कारबाट साहित्यकारहरु विनोद खड्का, बद्रीप्रसाद पराजुली र
गिरिश्रीस मगर सम्मानित भइसक्नु भएको छ । शिखर वैद्य अनेसास कतारका संस्थापक संयोजक हुनुहुन्छ । बैद्यले अनेसास कतार लगायत गैरआवासीय नेपाली संघ कतार, नवोदित साहित्यिक वाचनालयको स्थापनामा योगदान पुर्‍याउनु भएको थियो ।

“अनेसास शिखर पुरस्कार”का अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुरस्कार समितिका सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कार, अनेसास कतार र पुरस्कृत सर्जकबारे आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष प्रेमप्रसाद भट्टराई, अनेसास केन्द्रीय पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला, अनेसास केन्द्रीय निवर्तमान उपाध्यक्ष साहित्यकार रेनुका सोलु र सर्जक रमेशानन्द वैद्य लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

शिखर बैद्यको ६२ औं जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा बैद्य र अनेसास शिखर पुरस्कारका सदस्य भानु सुनार लगायत दिवङ्गत साहित्यकारहरुको सम्झनामा मौनधारण गरिएको थियो ।

अनेसास कतारका अध्यक्ष गजलकार लेख कार्कीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, अनेसास केन्द्रीय पूर्व महासचिव कवि सुरेन उप्रेती, अनेसास पुरस्कार समितिका सदस्य कवि दीपा राई पुन, साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसास कोरियाका पूर्व अध्यक्ष कवि प्रमोद सारङ, अनेसास पोर्चुगलका महासचिव कवि एन बी अन्जान, अनेसास नेपालका महासचिव कवि रन्जना निरौला, महासचिव, साहित्यकारहरु प्रज्वल अधिकारी, शेखर बस्नेत, चर्चीत ढुंगेल, पत्रकारहरु सूर्य सुवेदी (अध्यक्ष – काठमाडौ पत्रकार महासंघ), दिनेश रेग्मी, दिपक पुडासैनी, महेश्वर नेपाल, गणेश बञ्जाडे, गणेश क्षेत्री, महेश्वर नेपाल, अनेसास शिखर पुरस्कारका सदस्य कवि कला भट्टराई, चाँदनी शर्मा लगायतको उपस्थिति रहेको थियो ।