गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गिरफ्तार गरिएको बताउनुभएको छ ।प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट गिरफ्तार गरेर लैजाने क्रममा सिरोहियाले प्रतिशोध स्वरुप गृहमन्त्रीले आफूसँग रिस साँधेको दाबी गर्नुभयो । सहकारी ठगीको समाचार लेखेकै कारण आफूलाई गिरफ्तार गरिएको अध्यक्ष सिरोहियाको दाबी छ ।
उहाँले गृहमन्त्री लामिछानेसँग दुईवटा पासपोर्ट रहेको तर पक्राउ नगरिएकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘२/२ वटा नगारिकता बोक्ने गृहमन्त्री, सहकारी रकम अपचलन गर्ने गृहमन्त्रीलाई तत्काल पक्राउ गरियोस् ।’
उहाँले गृहमन्त्री लामिछानेको नाममा राहदानीसम्बन्धी मुद्दामा भोलि नै पक्राउ पुर्जी जारी हुनेमा आफू विश्वस्त भएको पनि बताउनुभयो । सत्ता र शक्तिको दुरुयोग गरिएको भन्दै सिरोहियाले आफूमाथिको धरपडकडलाई सञ्चारमाध्यममाथिको आक्रमण भएको बताउनुभयो ।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्न कान्तिपुरको मुख्यालय थापाथली पुग्नुभएको थियो । सिरोहियालाई आजै धनुषा लगिँदै छ ।

Comments are closed.