साफ यु-१९ च्याम्पियनमा घरेलु टोली नेपाल पराजित

काठमाडौँ : साफ यु-१९ च्याम्पियनमा घरेलु टोली नेपाल पराजित भएको छ। पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको हो।

खेलको ७६औँ मिनेटमा अलि जफरले गरेको गोल निर्णायक बन्यो। जफरले करिब ३० यार्डबाट गरेको प्रहारलाई जियारथले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। नेपालले पहिलो र दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि स्कोर निकाल्न सकेन्।

खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएको पाकिस्तानले खेलको पहिलो हाफमा नेपालको डिफेन्स लाइनलाई व्यस्त बनाएको थियो। तर कप्तान तथा गोलरक्षक जियारथ शेख बाधक बने। यद्यपि  दोस्रो हाफमा उनले पाकिस्तानी खेलाडीलाई रोक्न सकेनन्।

खेलको १५औँ मिनेटमा पाकिस्तानले अग्रता लिने मौका पाएको थियो। मोहम्मद आदिलले बार नजिकै रहेर बल प्रहार गरेका थिए तर  नेपाली डिफेन्डरअश्विन घोरासैनीलाई बिट गर्न नसक्दा बाहिरियो।

२७औँ मिनेटमा पाकिस्तानी शाह जहानको प्रहार नेपालका गोलरक्षक जियारथ शेखले बचाए। डिफेन्डर दीपक थापा मगरले पाकिस्तानका खुर्सिद आलमलाई डिबक्स नजिक लडाएपछि पाकिस्तानले फ्रिकक पाएको थियो तर जियारथले पञ्च गर्दै बचाए।

३३औँ मिनेटमा आदिल र मोहम्मद जफरले गोलको अवसर पाए पनि नेपाली डिफेन्डर बाधक बने। लगत्तै आदिलले नेपाली गोलरक्षक जियारथ बिट भइसकेका वेला खाली पोस्टमा गोल गर्न चुके।

४०औँ मिनेटमा जहानले डिबक्स बाहिरबाट गरेको प्रहार जियारथले मुस्किलले ड्राइभ गरेर बचाए। कुशल देउवाले आफ्नै साथीलाई बल दिने क्रममा जहानले नियन्त्रणमा लिएका थिए तर उनको प्रहार प्रभावकारी भएन।

४५औँ मिनेटमा जफरको प्रहारलाई पुन: जियारथले रोकिदिए। खुर्सिदले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई बिट गर्दै दिएको प्रहारलाई जफरले प्रहार गरेका थिए तर जियारथले पञ्च गर्दै बचाए।

६०औँ मिनेटमा जफरले आयुष तिमिल्सिनालाई बिट गर्दै वान भर्सेज वानको स्थिति निर्माण गरेका थिए तर आयुषले पुन: रन बनाउँदै करिब ५ यार्डबाट बल क्लिअर गरे। त्यस क्रममा जफर लड्न पुगेका थिए।

पाकिस्तानी मुख्य प्रशिक्षक शद्दव इफ्तिखारले सहायक रेफ्रीसँग आपत्ति जनाएपछि पहेंलो कार्ड पाए। लगत्तै जफरलाई कमिल खानले रिप्लेस गरे। यसैगरी  नेपालका निरञ्जन धामीलाई सुजन डंगोलले रिप्लेस गरे।