प्रथम अनेसास दिवसमा लव गाउँले र दुर्गा खरेल सम्मानित

यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो ।

सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान गर्यो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँलेलाई सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा नेपाल भ्रमणमा आइराखेका दार्जिलिङका लोकप्रिय गायक बद्री दुर्गा खरेललाई पनि प्रमुख अतिथि कवि दिवसले सम्मान प्रदान गरेका थिए ।

स्मरणीय छ, अनेसासको स्थापनाअघि लव गाउँले अमेरिकामा अध्ययन भ्रमणको सिलसिलामा रहेका थिए र अनेसासका प्रथम केन्द्रिय अध्यक्ष होमनाथ सुवेदी र उनले यो संस्था स्थापनाको विषयमा छलफल गरका थिए ।

अमेरिकामा अनेसास स्थापना हुँदाताका नै लव गाउँलेले नेपाल च्याप्टर स्थापना गरेका थिए र निकै लामो समय नेतृत्वमा रहेका थिए । उनी अध्यक्ष भएकै बेला अनेसासको मुखपत्रको नेपाल विशेषाङ्क नेपालबाट प्रकाशन भएको थियो र विशेषाङ्क भव्य रुपमा विमोचन गरिएको थियो ।