सातै प्रदेशमा एचपिभी खोप पुग्यो

सातै प्रदेशमा एचपिभी खोप पुग्यो

 

काठमाडौंँ,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाेप सातवटै प्रदेशमा पठाएको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । उहाँले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताउनुभयो ।

निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।