Trending Now

अमेरिकाले क्षेप्यास्त्र परीक्षणमा अवरोध गरे यसलाई युद्ध घोषणाको रुपमा लिइनेछ : उत्तर कोरिया

काठमाडौं । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई रोक्ने प्रयास गरिएमा उक्त गतिविधिलाई युद्धको घोषणाको रुपमा मानिने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङको मंगलबारको भनाइलाई उद्धृत गर्दै दक्षिण कोरियाली मिडियाले उक्त कुरा जनाएको हो ।

उसका अनुसार प्योङयाङले प्रशान्त महासागरमाथि इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा अमेरिकाले उक्त मिसाइल खसाल्ने योजना बनाएको छ । अमेरिकाले उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको परीक्षणमा हालसम्म कुनै अवरोध सिर्जना गरेको छैन ।

सामान्यतया छिमेकी देशहरूबाट बचाउन यस किसिमको परीक्षणमा ठाडो कोणमा मिसाइल प्रक्षेपण गरिन्छ । यद्यपि प्योङयाङले हालै जापानको क्षेत्रमा समेत यस किसिमको परीक्षण गरेसँगै र परीक्षण जारी राख्ने घोषणा गरेसँगै यसले विश्व समुदायमा बहस सुरु गरेको अवस्था छ ।

प्योङयाङको आफ्नो रणनीतिक हतियार परीक्षणविरुद्ध अमेरिकी सैन्य कारबाहीलाई ‘युद्धको घोषणा’को रूपमा हेरिने किम यो जोङको भनाइ छ । जोङले प्रशान्त महासागर अमेरिका वा जापानको प्रभुत्वमा नपर्नेसमेत बताएकी छन् ।

गत वर्ष प्योङयाङले गरेको क्षेप्यास्त्र परीक्षणको रेकर्डपछि अमेरिका र दक्षिण कोरियाले आफ्नो संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिने र बढोत्तरी गर्ने सहमति गरिरहेको बेला उत्तर कोरियाले यस किसिमको चेतावनी दिएको हो ।

Comments are closed.