अवैध निकासी ४० वटा काठका कलाकृति अमेरिकी सरकारबाट नेपाली दूतावासलाई फिर्ता

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकी सरकारबाट नेपाली दूतावासलाई फिर्ता गरेको छ।
अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले दूतावासमा आयोजित एक हस्तान्तरण समारोहमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन एचएसआईबाट १९ औँ देखि २०औँ शताब्दीका ४० वटा नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको छ ।
नेपालबाट अवैध रूपमा निकासी गरिएका यी वस्तुहरू सन् २०१० अगस्ट १८ मा अमेरिकाको भन्सार र सीमा सुरक्षाले होनोलुलु हवाईमा जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा यी वस्तुहरू नेपाललाई फिर्ता गर्न अमेरिकी सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेको थियो।
सो अवसरमा राजदूत श्रीधर खत्रीले यी महत्त्वपूर्ण कलाकृतिहरू फिर्ता ल्याउन सहयोग र समन्वय गरेकोमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, अमेरिकाको विदेश मन्त्रालय , सञ्चारमाध्यम र कला तथा सम्पदा अभियानकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले आज हस्तान्तरण गरिएका कलाकृतिहरू र यसअघि बरामद गरिएका अन्य कलाकृतिहरू पुनःप्राप्तिमा परिश्रम र लगनशीलताका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका अनुसन्धानकर्ताहरू र कर्मचारीहरूको विशेष प्रशंसा गरे ।
दूतावासलाई हस्तान्तरण गरिएका कलाकृतिहरूको ३९ वटा कुँदिएका र चित्रित काठका प्यानलहरू र नक्काशी गरिएको काठको मन्दिर समावेश छन् । जसमध्ये चारवटा प्यानलहरू हस्तान्तरण समारोहमा प्रदर्शनको लागि चयन गरिएको थियो। बाँकी टुक्राहरू कस्तो देखिन्छन् भनेर थाहा दिन अन्य कलाकृतिहरूको फोटोहरू छुट्टै प्रदर्शन गरिएको थियो। यी बहुमूल्य नेपाली कलाकृतिहरू १९ औं र २० औं शताब्दी बीचको अवधिको अनुमान गरिएको छ। यी कलाकृतिहरूले भगवान बुद्धको जीवन र उहाँका शिक्षाहरूका साथै बौद्ध धार्मिक र सांस्कृतिक मूल्यमान्यता र अभ्यासहरूका विभिन्न पक्षहरूलाई सङ्केत गर्दछन्।
यसअघि दूतावासले मे १८, २०२२ मा उमा महेश्वर, चतुर्मुख शिवलिङ्ग, नागराज, पद्मपानी र शाक्यमुनि बुद्धका ढुङ्गाका मूर्तिहरू नेपाललाई सफलतापूर्वक फिर्ता गरेको थियो। अप्रिल २८, २०२३ नृत्यदेवीको काठको मुर्ति र भगवान बुद्धको उभिएको ढुङ्गाको मुर्ति पनि दूतावासले नेपाल पठाएको थियो । दूतावासले आज प्राप्त भएका कलाकृतिहरू जतिसक्दो चाँडो नेपाल पुरातत्व विभागमा पठाउने जनाएको छ ।