इस्लामाबाद : पाकिस्तान सरकारले भारतसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएको छ। संसद्मा लिखित जवाफ दिँदै पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले बिहीवार भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्याएका छन्।
पाकिस्तानले भारतसँग असल सम्बन्ध होस् भन्ने चाहेको र यसका लागि सबै कदम चाल्ने उनले बताए। पाकिस्तानमा प्रतिनिधिसभाको बैठकमा डारले यस्तो जवाफ दिएका हुन्।
विदेशमन्त्री डारले पछिल्लो समय भारतले दुई देशबीचको सम्बन्धमा बिगार्ने केही कदम चालेको पनि बताए। डारले पाकिस्तानी भूभागमा आतंकवादी गतिविधिमा भारत सक्रिय संलग्न भएको उनले आरोप लगाए। उनले भारतलाई शान्तिपूर्ण वार्ताका लागि रचनात्मक कदम चाल्न पनि आग्रह गरेका छन्। सम्बन्ध सुधार्न चाहे पनि डारले भारत र पाकिस्तानबीचको सम्बन्धमा बाधक बनेको जम्मु-कश्मीर समस्याको उल्लेख पनि गरे।
भारतप्रतिको कूटनीतिक अडानमा परिवर्तन आएको सङ्केत गर्दै डारले भनेका थिए, ‘पाकिस्तानी व्यापारीहरू भारतसँग व्यापार गर्न इच्छुक छन्। यस्तो अवस्थामा हाम्रो सरकारले भारतसँगको व्यापारिक सम्बन्ध पुनःस्थापनाका लागि गम्भीरतापूर्वक हेर्नुपर्छ।’ उनले बन्द भएको भारतसँगको व्यापार सम्बन्ध पुनःस्थापनाका लागि पाकिस्तानले गम्भीरतापूर्वक विचार गरेको बताएका छन्।
पाकिस्तानका धेरै व्यवसायीले भारतीय सामान तेस्रो मुलुक हुँदै ल्याउने गरेको बताएका थिए। जसका कारण लागत खर्च बढी लागेको उनीहरूको गुनासो थियो। उनीहरूले भारतीय सामान सिंगापुर हुँदै पाकिस्तान ल्याएर व्यापार गर्दा निकै महँगो भएको चिन्ता व्यक्त गरेका थिए। पहिले अटारी–बाघा बोर्डर र कराँची बन्दरगाहबाट व्यापार हुन्थ्यो। अहिले स्थलमार्गबाट व्यापार हुने गरेको छैन।
पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन भएको थियो। शहबाज शरीफ प्रधानमन्त्री बने। चुनावका वेला उनले भारतसँग सुमधुर सम्बन्ध स्थापना गर्ने कुरा गरेका थिए।
सन् २०१९ मा भारत सरकारले ३७० धारा खारेज गर्दै जम्मु र कश्मीरको विशेष दर्जा खारेज यसको विरोधमा पाकिस्तानले भारतसँगका सबै व्यापारिक सम्बन्ध तोडेको थियो।
पाकिस्तानले भारतबाट कपास, जैविक रसायन, प्लाष्टिक, आणविक रियक्टर, बोइलर, पार्टपुर्जा र मेकानिकल डिभाइसजस्ता सामान आयात गर्थ्यो।
भारतले पनि पाकिस्तानबाट फलफूल र सुक्खा फलफूल, नुन, गन्धक, ढुङ्गा, धातु र छाला आयात गर्थ्यो। व्यापार रोके पनि कोभिडको समस्या देखाउँदै पाकिस्तानले औषधि पनि भने भारतबाट आयात कायमै राखेको छ।