यात्रुसहित २ वटा बस त्रिशूलीमा खसेको घटनामा कार्यदलले देखायो यी ३ कमजोरी

काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।मंगलबार सिंहदरबारमा गत असार २८ गते अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशूलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशुली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए ।त्यस्तै दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको कार्यदलको निचोड छ ।
अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले उल्लेख गरे । सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बीमावापतको रकम दिन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।
अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दु:खद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए । उनले कार्यदलको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुईवटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ जसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् ।