Trending Now

श्यामप्रसाद शर्माका नाममा स्मृति पार्कको उद्घाटन

हेटौँडा: नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान  गरेका लेखक,पत्रकार एवं राजनीतिज्ञ श्यामप्रसाद शर्माका नाममा पार्कको उदघाटन भएको छ। शर्माको स्मृतिमा हेटौँडा–१८ ,गुम्बाडाँडामा निर्माण भएको स्मृति पार्कको शुक्रबार उद्घाटन गरिएको हो । साथै शर्माको प्रतिमा पनि अनावरण  गरिएको छ ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त पार्कको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु चुनौतीको  कुरा  भएको बताए । मन्त्री पाण्डेले  श्यामप्रसाद विचारहरूबाट जीवन्त भएको बताए थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने,साहित्यकारहरू घनश्याम घिमिरे,अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडा चिरञ्जीवी लामिछाने , नमुना पाण्डे लगायतले शर्माबारे चर्चा गरेका थिए । त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको बताए।

श्यामप्रसादको २०७४ सालमा निधन भएको थियो । उनी प्रगतिशील लेखक सङ्घ नेपालको संस्थापक अध्यक्ष थिए । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि। स। १९८६ मा जन्मिएका उनका  कविता , बालगीत ,निबन्ध, गीत र राजनैतिक विषयमा लेखिएका कृतिहरु प्रकाशित भएका छन् । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवनबिताएका उनी नेपाली जनतामा लेखक, सङ्ठनकका रुपमा परिचित थिए ।  प्रतिष्ठानले सरल जीवनशैलीका कारण सधैँ स्मरणीय  शर्माको  सम्मानमा  पार्क र प्रतिमा निर्माण गरेको  बताएको छ ।

संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता सम्पन्न उक्त कार्यक्रमलाई प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गरेका थिए , भने  प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए ।  कार्यक्रममा  निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत  गरेका थिए ।

 स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण  प्रतिष्ठान अध्यक्ष कौशल पाण्डे कार्यक्रममा उपस्थित हुन सकेको थिएनन्।

Comments are closed.