भारतले बंगलादेशलाई ५० रनले हरायो, सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।शनिवार राति वेस्ट इन्डिजको एन्टिगुवा एन्ड बरबुडामा भएको सुपर ८ को खेलमा भारतले बंगलादेशलाई ५० रनको फराकिलो अन्तरले हराएको हो । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।
यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । गएराति भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । भारत समूह एकको शीर्ष स्थानमा छ । आइतवार बिहान अष्ट्रेलियाले अफगानिस्तानमाथि जित दर्ता गराएमा भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ ।