मालदिभ्सबाट फिर्ता भए भारतीय सेना

काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए ।भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् ।यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी गराएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइसकिएको छ ।भारतको सरकारी आँकडा अनुसार मालदिभ्समा ८८ जना सैनिक थिए । मालदिभ्समा तीन विमानस्थलमा भारतीय सैनिकहरु तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा पनि निगरानी गर्दथे ।
‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए ।मालदिभ्सको मिहारु पत्रिकाका अनुसार एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए ।एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्ने छन् ।