काठमाडौँ । दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मङ्गलवार साँझ स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ओर्लनासाथै भेटघाटमा व्यस्त भएका क्वात्राले आज पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए।
पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री विमला राई पौड्यालसम्मलाई भेटेका थिए।
उनले आज भारत फर्कनुअघि उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र अन्य दोस्रो तहका नेताहरूसँग भेटघाट गरेका थिए।
भेटवार्तामा नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा छलफल भएको छ। नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने सहमति भएको छ।