काठमाडौँ । उत्पादन गरेको तरकारी बिक्री नभएको भन्दै नेपाली किसानले समय–समयमा सडकमा तरकारी फालेर आक्रोश प्रदर्शन गर्ने गरेका छन् । भारतीय तरकारीले नेपाली तरकारीको बजारलाई विस्थापित गरेकोमा उनीहरुको चित्त दुखाई पनि रहँदै आएको छ । अर्कोतर्फ भारतबाट निर्वाध रुपमा विना परीक्षण नेपाल भित्रिरहेको हरियो तरकारीमा उच्च मात्रामा विषादी र मानव स्वास्थ्यलई हानी गर्ने विभिन्न रसायन मिसिएको भन्दै आम उपभोक्ता तथा स्वास्थ्य क्षेत्रका विज्ञहरु चिन्ता जनाइरहेका छन् । हुन पनि विषादी र अनेक रासायिनिक तत्व मिसाइएको विषादीले पक्कै मानव स्वास्थ्यमा असर पु¥याउँछ ।
यही तथ्यलाई आत्मसात गर्दै यसअघि केपी शर्मा ओलीको नेतृत्वको नेपाल सरकारले केही समय भारतबाट काठमाडौँ आउने तरकारीको विषादी परीक्षण सुरु गरेको थियो । तर, पछि भारतको चर्को दबाबका कारण उक्त परीक्षण सरकारले रोक्यो । खासगरी भारत रिसाउला र ऊसँगको सम्बन्धत बिग्रिएला भन्ने डरले सरकारले विषादी परीक्षण रोकेको हो । त्यसपछि उच्च विषादीयुक्त भारतीय तरकारी निर्वाध रुपमा नेपाल भित्रिरहेको छ । खुलेआम बजारमा बिक्री भइरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग गरिन्छ । तर त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारतबाट आयात गरिएको तरकारी नेपाली बजारमा बिक्री गरिन्छ ।
नेपाली किसानले भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादीको प्रयोग भएको भन्दै प्रतिबन्धको माग गर्दै आएका छन् । काठमाडौँको रत्नराज्य क्याम्पस तथा शंकरदेव क्याम्पसका विद्यार्थीले पनि केही साताअघि मात्रै बाटोमा भारतीय विषदीयुक्त तरकारी पोखेर विरोध प्रदर्शन गरेका थिए । तर, सरकारले भारतको दबाब र सम्बन्ध सुधार्ने नाउमा नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ ।कालीमाटी फलफूल तथा बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठको तर्क भने अर्कै छ । किसानले बजार र मूल्य नपाएको भन्दै बाटोमा पोखेको तरकारीले अहिले मूल्य पाइसकेको उनी बताउँछन् । केही समयअघि चितवनका किसानले सडकमा गोलभेडा पोखेर प्रर्दशन गरेका थिए । तर, उनका अनुसार अहिले त्यही गोलभेडाको मूल्य पनि ५० देखि ६० रुपैयाँ पुगिसकेको छ ।