काठमाडौं । भारतले सूर्यको अन्वेषणका लागि पठाएको मिसन प्रक्षेपण गरेको चार महिनापछि सूर्यको कक्षमा प्रवेश गरेको छ ।
भारतले गत सेप्टेम्बरमा सूर्यको बाहिरी तहको मापन र अवलोकन गर्ने उपकरणसहित आदित्य एल–१ मिसन प्रक्षेपण गरेको थियो ।
भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले सूर्य र पृथ्वीबीचको सम्बन्धबारे अनुसन्धान गर्ने आदित्य एल–१ गन्तव्यमा पुगेको बताएका छन् ।
यसअघि अमेरिका र युरोपेली अन्तरिक्ष एजेन्सीले सूर्यको अध्ययनका लागि अन्तरिक्षयानहरू पठाएका छन् । जापान र चीनले पनि सूर्यको अन्वेषण गर्ने मिसन पृथ्वीको कक्षमा सञ्चालन गरेका छन् ।
तर, सूर्यकै परिक्रमा गरी अन्वेषण गर्ने यान पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) एसियाकै पहिलो बनेको छ ।
पृथ्वीबाट १५ लाख किलोमिटरको दुरीमा रहेको यो यानले सूर्यको वायुमण्डलबाट प्लाज्मा र चुम्बकीय ऊर्जा निस्किने प्रक्रिया ‘कोरोनल मास इजेक्सन’बारे अध्ययन गर्ने बताइएको छ ।