इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

काठमाडौं, माघ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिनुभएको थिएन । रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।

प्रतिनिधि सभाको उपसभामुख निर्वाचित राना राजनीतिक क्षेत्रमा नयाँ हुनुहुन्छ। उहाँ सामाजिक क्षेत्रमा अब्बल र कुशल नेत्रीका रूपमा स्थापित व्यक्तित्व हुनुहुन्छ। उहाँ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको हो। उहाँले सामाजिक अभियन्ताको परिचय बदल्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो।

Comments are closed.