सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बुद्ध दर्शनमा आधारित लामो कविता ‘अनि प्रतित्य समुद्पाद, शुन्य शुन्य महाशुन्य ’ उपर चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको विशेष उपस्थितिमा उक्त कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रिय अध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले गरेका थिए भने महासचिव राजु सिटौलाले सहजताको भूमिका निर्वाह गरेका थिए । सामाजिक संजाल जुमबाट सम्पन्न भएको उक्त कार्यक्रममा काव्यका सर्जक कवि लाल गोपाल सुवेदीले कविता लेखनीको सन्दर्भ र अन्तर्यबारे स्पष्ट पार्दै अबको सताब्दीमा मानवको रक्षा बुद्ध दर्शनको मर्मबोधले मात्र गर्न सक्ने कुरा राखेका थिए ।

त्यस्तै कार्यक्रममा अतिथिहरुको सम्मान र कविको परिचयबारे अनेसास केन्द्रका उपाध्यक्ष डिल्लीराम अम्माईले काब्यकार लालगोपाल सुवेदीको परिचय दिंदै उनले अहिलेसम्म दुई दर्जनको आसपास पुस्तकहरु तथा सयौँ फुटकर रचनाहरु दिएर प्रवाशको नेपाली समाजलाई साहित्यिक क्षेत्रमा अतुलनिय योगदान पुऱ्याएको बताए । उनले आगन्तुक सबै पाहुनाहरुलाई अनेसासको मन्चमा स्वागत गर्दै लामो कवितामा भएका गहकिला लाइनहरुको समेत पाठ गरेर सबैलाई सुनाएका थिए ।

काव्य चर्चा परिचर्चा कार्यक्रमका अतिथि वक्ताहरु क्रमशः पत्रकार तथा समालोचक राजकुमार बानिया, प्राज्ञ प्रतिक ढकाल र प्रमुख अतिथिमा प्राज्ञ प्राडा कृष्णहरि बराल रहेका थिए । त्यस्तै वक्ता विशेषमा कवि सुवेदीका गुरु प्रा. खगेन्द्र लुइँटेल समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै, कविताको दार्शनिक तत्वहरुलाई उत्खनन गर्ने क्रममा बिओटीका सचिव तथा साहित्यकार नारायण अधिकारीले बुद्ध दर्शनमा आधारित कविताका बहुआयामिक जटिलताबारे सरल र स्पष्ट भाषामा सरलीकरण गरेका थिए ।

पुस्तकको समालोचना गर्दै समालोचक राजकुमार बानियाँले पुस्तकको शीर्षकदेखि अन्त्यसम्मका तीन आयामबारे आफ्नो टिप्पणी राख्दै यो पुस्तक एक पटक सबैले पढ्न आग्रह समेत गरे । त्यस्तै, साहित्यकार प्रतीक ढकालले पुस्तक बारे चर्चा गर्दै यो स्तरको दार्शनिक काव्य नेपाली साहित्य जगतले पाउनु हामी सबैको सौभाग्य भएको आशय व्यक्त गरे ।

प्रमुख वक्ता प्राज्ञ प्राडा कृष्णहरि बरालले लामो कविताको पहिलो आयामले जीवदेखि मानिस र सृष्टिका सम्पूर्ण दुखहरुको भवचक्रको सृंखलालाई कविले आफ्नो अनुभवको आधारमा पस्केका छन् भन्दै दोश्रो आयाममा मानव दुखको चक्र श्रृंखलालाई सर्जकले बुद्ध दर्शनको आधारभूत सिद्धान्तसँग जोडेर काव्यलाई दार्शनिक रुप दिएका बताए । बरालले पुस्तक उपर ब्यापक टिप्पणी गर्दै कृतिको अन्तिम खण्ड अथवा आयामले मानवसँगै सम्पूर्ण जगतको निर्वाण अथवा मुक्ति मार्गको अध्यात्मिक विकल्प दिएको कुरा प्रष्ट पारे । उनका अनुशार बुद्ध दर्शनको प्रतित्य समुत्पादलाई नबुझी दु:ख र दुःखका कारणबारे बुझ्न नसकिने हुनाले परम शान्तिको लागि बुद्धले बताएका शिलहरुको पालन गर्दै चार आर्य सत्यको खोजले आफ्नो आत्माको निर्वाण हुनेतर्फ संकेत गरे। उनका अनुशार यस पुस्तकको महत्व सदाबहार भैरहने भएकोले कवि सुवदीलाई यस्तै कृतिहरु लेखिरहने प्रेरणा मिलोस् भनेर शुभकामना समेत दिएका थिए ।

कविका गुरु प्रा. खगेन्द्र लुइँटेलले पुस्तकको शीर्षक अलिक लामो भएकोमा गुनासो गर्दै कविताका अन्तरबस्तुहरुबारे प्रष्ट्याए । उनले आफ्ना प्रिय चेला कवि सुवदीलाई उक्त दार्शनिक सृजनाको लागि बधाई दिएका थिए ।

काव्यको चर्चा परिचर्चा कार्यक्रममा अनेसासकी पुर्वअध्यक्ष गीता खत्री लगायत धेरै वक्ताहरुले अनेसासका वरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदीलाई सृजनाको लागि बधाई दिएका थिए।

अन्त्यमा, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले तथा बिओटी सभापति पदम विश्वकर्माले अनेसासको तर्फबाट कवि लालगोपाल सुवेदीलाई दार्शनिक काब्य ‘अनि प्रतित्य समुद्पाद,सुन्य सुन्य महासुन्य’ को लागि प्रेमपूर्ण शुभकामना तथा बधाई दिएका थिए।