‘नेपाललाई भारतमा गाभ्न खोजेको’ आरोपपछि रास्वपामा चल्यो आन्तरिक छलफल

पार्टीबाट हालै कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका विभिन्न नेताहरूविरुद्ध अनेक आरोप लगाउने शृंखला अझै चलिरहेको छ।शनिबार पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि यसअघिका भन्दा संगीन आरोप लगाए।सभापति लामिछानेले प्रधानमन्त्रीका लागि आफू भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेको र त्यसका लागि पहल गरिदिन आफूलाई अह्राएको ढकालले दाबी गरे। दोस्रोपटक गृहमन्त्री भएपछि रविले त्यसका लागि भारतीय राजदूतसँग एक होटेलमा पार्टीका नेताहरूसहित भेटेको उनको भनाइ छ।
पार्टीका उपसभापति वाग्लेले रविलाई प्रधानमन्त्री बनाउन नेपाललाई भारतको राज्य वा भारत संरक्षित देश भुटानजस्तो बनाउन सहमति गर्न आवश्यक रहेको भनेको दाबी ढकालले गरे। त्यसको कुनै प्रमाण भने उनले दिएनन्।’म लाइ डिटेक्सन टेस्ट दिन तयार छु । उहाँले भनेको हो। कुनै पनि प्रकारको छानबिनमा जानका लागि म तयार छु,’ उनले भनेका छन्।
आफ्ना पूर्वमहामन्त्रीले आफूमाथि लगाएको संगीन आरोपको औपचारिक खण्डन लामिछाने र वाग्लेले गरिसकेका छैनन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले त्यसबारे प्रतिक्रिया जनाउँदै ढकालले नेताहरूमाथि लगाएको आरोप झुटो भएको बताए।  झाले भने, ‘चौथो ठूलो पार्टीको महामन्त्री भइसकेको मान्छे, त्यस्तो किसिमको अराजनीतिक वक्तव्य दिनुहुन्छ भने त्यसको पछाडि लाग्ने वा त्यसमा आफू पनि ‘इन्गेज’ भइराख्न कत्तिको उपयुक्त हुन्छ?’यद्यपि, यसबारे के गर्ने भनेर नेताहरू अझै परामर्शमै रहेको उनले जानकारी दिए।
मुकुल ढकालको आरोप
मैले पहिलेदेखि नै पार्टीको तर्फबाट भारत हेर्ने गर्थेँ। उहाँ (रवि लामिछाने)ले बारम्बार के भन्नुभयो भने– भारतलाई म जे पनि बुझाउन तयार छु, मलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई मनाऊ। तर, मैले भारतसँग त्यस्तो कुरा कहिले पनि गर्न सकिनँ। भारतले पनि यो दलहरूबीचको आन्तरिक मामिला हो, त्यसमा हामीलाई नधकेल भन्ने कुरा हुन्थ्यो। र, भारतसँग मैले जहिले कुरा गर्दा पनि क्रिकेट विकासका लागि कुरा गरेको छु।
उहाँले त्यो भनेपछि मलाई शंका लाग्यो, यो आत्मसर्मपणवाद हो? त्यसपछि मैले उहाँलाई प्रतिप्रश्न गरिनँ। उहाँ गृहमन्त्री भएपछि एउटा होटेलमा हामीले भारतीय राजदूत (नवीन श्रीवास्तव)लाई भेट्यौँ। म, रविजी, शिशिर खनाल र स्वर्णिम वाग्ले हुनुहुन्थ्यो। त्यतापट्टि (भारत)बाट आफ्नो टिम पनि थियो । त्यो टिमलाई भेटेर लिफ्टबाट तल ओर्लेपछि स्वर्णिम वाग्लेले मलाई के भन्नुभयो भने नेपाल देशलाई भारतको राज्य बनाइदिन वा भुटान स्टेट बनाइदिनको लागि सहमति गरिदिने, त्यो गरिसकेपछि उनीहरूले मान्छन्। यस्तो कुरा भनिसकेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्यो। म ‘लाइ डिटेक्सन टेस्ट’ दिन तयार छु, उहाँले भनेको हो। कुनै पनि प्रकारको छानबिनमा जानका लागि म तयार छु।
अराजनीतिक वक्तव्य : मनिष झा
जो मान्छे (सभापति रवि लामिछाने)लाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरिसक्यो, उसले चाहिँ विदेशीलाई भन्दिन भन्नुपर्छ र? उहाँलाई प्रधानमन्त्री हुने इच्छा भएको भए त्यो त कांग्रेसले पनि अफर गरेको थियो नि। किन, भारतीय दूतावासलाई भनिदिनुपर्यो र? त्यसैले त्यो अभियोग नै गलत हो।अर्को कुरा, रास्वपाको नेता, सांसदहरू त्यस्तो कुरामा कम्प्रोमाइज गर्न जान्छ जस्तो लाग्दैन मलाई।
यसविरुद्ध कानुनी कारबाहीमा जाने, मानहानिको मुद्दामा जानेबारे सरसल्लाह गर्दै हुनुहुन्छ। निष्कर्ष चाहिँ निस्किसकेको छैन, कानुनविदहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ।
चौथो ठूलो पार्टीको महामन्त्री भइसकेको मान्छे, त्यस्तो किसिमको अराजनीतिक वक्तव्य दिनुहुन्छ भने त्यसको पछाडि लाग्ने, त्यसमा आफू पनि इन्गेज भइराख्ने कत्तिको उपयुक्त हुन्छ?
स्वर्णिम दाइ पनि लेखपढ गर्ने, व्यस्त मान्छे हो। पार्टीको उपसभापति हुनुहुन्छ। सांसद हुनुहुन्छ। विभागको प्रमुख हुनुहुन्छ। यी सबै जिम्मेवारी भएको मान्छे एकजना कसैले असन्तुष्टिमा बोलिदियो, त्यो पनि पार्टीबाट निस्कासित व्यक्तिले। त्यसका पछि लाग्ने नलाग्ने भन्ने कुरा पनि छ नि। त्यसैले उहाँले के गर्ने भनेर सरसल्लाह गर्दै हुनुहुन्छ।