श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले सन् २०१९ मा प्रकाशित गरेको थियो । उक्त पुस्तक अहिले फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस भाषामा अनुवाद गरी सोही शैक्षिक संस्थाले प्रकाशनमा ल्याएको जनाएको छ ।

इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले पुस्तकको प्राक्कथन लेखेका छन् । यस पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपायबारे उल्लेख छ । यसैगरी सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् । यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ ।

नेपालको लिपुलेक-कालापानी-लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपाय व्याख्या गरिएको लेखक श्रेष्ठले कान्तिपुरलाई बताए ।

 

नेपालको सगरमाथाप्रति चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाको विवरण, नेपाल र चीनबीच सीमाचिह्न नं. ५७ मा विवाद रहेको र चीनको बिआरआई‚ नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख छ ।

 

त्यस्तै पुस्तकमा सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एसोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरू, इन्टरनेसनल फेडेरेसन अफ सर्भेयर्सलगायत संस्थाहरूको सीमासम्बन्धी क्रियाकलापको बयान गरिएको जनाइएको छ । पुस्तक अनलाइनमा समेत पढ्न पाइने छ ।