अन्तर्राष्ट्रिय महिला फुटबल आजदेखि शुरू

अन्तर्राष्ट्रिय महिला फुटबल आजदेखि शुरू

काठमाडौं–नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्ने योजना रहेको बताइन् ।
खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले भनिन्, ‘उपाधि खडेरी तोड्न यो प्रतियोगिता हाम्रा लागि राम्रो अवसर हो । तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । उपाधि कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन ।’

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिता शुरू गर्नेछ ।

सावित्राले पहिलो खेल गुमाउन सक्ने
नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा फ्रान्सबाट सोमबार बिहानमात्रै नेपाल आइपुग्ने र पहिलो खेल गुमाउने सम्भावना रहेको जानकारी दिएका हुन् ।
प्रशिक्षक तामाङले सावित्रा सोमबार बिहानमात्रै नेपाल आइपुग्ने भएकाले उनलाई विश्राम दिने योजना रहेको बताए । उनले सावित्रा सोमबार बिहान ९ बजे नेपाल आइपुग्ने बताए ।
नेपाल र किर्गिस्तानबीचको खेल साँझ ६ बजे शुरू हुनेछ । त्यसै गरी प्रशिक्षक तामाङले किर्गिस्तान पहिलेको भन्दा राम्रो भएकाले हल्का रूपमा नलिने बताए । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।
प्रशिक्षक तामाङले महिला लिगका कारण खेलाडी राम्रो लयमा रहेको बताए । नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।