भुटानी शरणार्थी, गिरी बन्धु र विद्युत् महसुलमा मात्र होइन सहकारी ठग माथि पनि अनुसन्धान हुन्छ’ : थापा

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण समयको माग भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले दुई ठुला दलको सरकार बन्ने कुरा असामान्य कुरा भएको भए पनि ठिक भएको बताउनुभयो । ‘जे भएको छ ठिक भएको छ, यो असामान्य छ, ठिक भएको छ, ठिक बनाउनु पर्छ’, थापाले भन्नुभयो ।
कांग्रेस र एमाले बिच सात बुँदे सहमति भएको भए पनि मूलभूत रूपमा त्यो सहमति तीन बुँदामा केन्द्रित भएको उहाँले बताउनुभयो । संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माण भएको उहाँको भनाइ छ ।

संविधान संशोधन अग्रगमनको लागि हुने बताउँदै थापाले प्राप्त अधिकारबाट पछाडि फर्कने कुरा हुनै नसक्ने बताउनुभयो । संविधानमा भएका कुरा हटाउने होइन थप्ने कुरामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हामी संघीयतालाई यो भन्दा सुदृढ र प्रभावकारी बनाउने कि नबनाउने ?’, उहाँले भन्नुभयो ।

अहिलेको प्रतिनिधि सभाको सङ्ख्यालाई, प्रदेश सभा र सरकारहरूलाई साना बनाए अझ समावेशी बनाऊ सकिने उहाँले बताउनुभयो । त्यसैका विषयमा छलफल गरेर संविधान संशोधन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । ‘कांग्रेस एमालेको पहिलो दायित्व यो बहसबाट भाग्ने पनि होइन बरालिने पनि होइन’, उहाँले भन्नुभयो ।

थापाले कांग्रेस र एमाले भ्रष्टाचारका मुद्दा लुकाउन एक भएका भन्ने आरोप पनि गलत भएको बताउनुभयो । भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, विद्युत् महसुल असुल लगायत सबै विषयमा सरकारले तलमाथि नभई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले कसै माथि अन्याय हुन दिनु नहुने र अनुचित लाभ पनि लिन दिनु नहुने थापाले स्पष्ट पार्नुभयो ।

सूर्य दर्शन सहकारी लगायत सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम पनि जोडिएकोले त्यसमा समेत निष्पक्ष छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सरका फेरिने बित्तिकै कुरा फेरिन नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘यता बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रङ्क लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने, उता बसेपछि सबै देख्ने होइन, हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो, गिरी बन्धुको पनि जे हो त्यही हुनु पर्छ, भुटानीको पनि जे हो त्यही हुनुपर्छ, डेडिकेटेड ट्रङ्क लाइनको पनि एक रुपैँया पनि सरकार, राज्य ठगिनु हुन्न, सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नै पर्छ जो जतिसुकै शक्तिशाली होस्’, थापाले भन्नुभयो ।

थापाले अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूको कार्यकाल २४ महिनाको भएकाले त्यस अनुसारको योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीले यस विषयमा मिहिनेत गरिरहनु भएकोले उपलब्धि आउने थापाले विश्वास व्यक्त गर्नुभयो । साना साना काम गर्दा पनि धेरै उपलब्धि र नागरिकलाई राहत दिन सकिने उहाँले बताउनुभयो ।