पाकिस्तानमा इरानको आक्रमण : अमेरिकाले गर्‍यो निन्दा, चीनले शान्तिकोअपिल

अमेरिकाले इरानले पछिल्ला केही दिनयता आफ्ना छिमेकी देशसँगका सीमा उल्लंघन गरिरहेको भन्दै आक्रमणको निन्दा गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताए।

यता चीनले शान्तिपूर्ण रूपमा समस्या समाधानका लागि अपिल गरेको छ। विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले आपसी सम्बन्धलाई संयक्त राष्ट्र संघको चार्टर तथा अन्तर्राष्ट्रिय कानूनअनुसार सुल्झाउनुपर्नेमा जोड दिइन्। उनले इरान र पाकिस्तान दुई नजिकका मित्र र ठूला इस्लामिक देश भएकाले तनाव बढाउने काम नगर्न अपिल गरिन्।

केही दिनयता मध्यपूर्वी एसियाली क्षेत्रमा बढ्दो तनावका बीच इरानले आतंकवादी संगठनविरुद्धको कारबाही भन्दै पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल खसालेको थियो। पाकिस्तानमा सक्रिय जैश अल अद्ल नामको संगठनविरुद्ध गरिएको भनिएको आक्रमणमा दुई बालबालिका मारिएका थिए। यो घटनापछि पाकिस्तानले तेहरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानी राजदूतलाई पनि पाकिस्तान प्रवेश गर्न नदिने चेतावनी दिएको छ।