काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए ।
उनले समाज भनेको राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताए ।
उनले भने ‘हामी राजनीतिकर्मीहरू अझ जिम्मेवारीमा भएकाहरूलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतीको बीचमा रहनुपर्ने हुन्छ । आज पनि मेरो दिन त्यस्तै थियो र छ । यही बीचमा पनि केही चिटहरू आए, कुराहरू आए । यस्तो बीचमा मानव सेवा आश्रमले असहायको सेवाको निम्ति यस वर्षको चाड पर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान लाँदै हुनुहुन्छ, सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ । समाज भनेको राजनीति मात्रै होइन, अरू पनि पक्ष छन् जस्तो लागेको छ । धर्म, जिम्मेवारीको अर्को झनै महत्त्वपूर्ण पाटो छ, जस्तो महसुस भयो ।’
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानव मुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताए ।
उनले भने ‘यो धेरै महान काम हो । देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरा जुन नीति, कार्यक्रममा राख्यौँ, वास्तवमै भन्ने हो भने त्यो मानव सेवा आश्रमको काम होइन । सरकारको काम हो । हामी सबै मिलेर सडक मानवमुक्त देश बनाउने भनेर घोषणा गरेका हौँ । सरकारको तर्फबाट सकेसम्म सहयोग गर्नेछौँ ।’
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताए । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको बताए । उनले यात्राको सफलताको शुभकामना दिए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताए । उनले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताए ।
उनले राज्यले मानव सेवालाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले यसको सबै जिम्मेवारी व्यहोर्नुपर्ने बताए ।