इजरायलमा मारिएकाहरूको शव ल्याउन केही समय लाग्छ: परराष्ट्र मन्त्रालय

काठमाडौँ । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधवार अपराह्न पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए ।

उनले उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरू इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारे । उनका अनुसार नेपाल फर्कन चाहनेहरूलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ ।

इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरूका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताए ।

उनले भने ‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर रूपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ । सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रूपमा राखिएको छ । मृतकहरूको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौँ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ शवहरू नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौँ । २८८ जना भन्दा बढिले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरूका लागि नेपाल एयरलाईन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज राति नै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरूलाई नेपाली दूतावासले सहजीकरण गर्ने ब्यहोरा पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु ।’

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिए । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले भने ‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई । २ जनाको उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ । खोजी कार्य जारी छ ।’

बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामर्थ्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताए ।