Trending Now

जैसवालले जिताए राजस्थानलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा राजस्थान रोयल्सले सजिलो जित हात पारेको छ । राजस्थानले कोलकाता नाइट राइडर्समाथि ९ विकेटको जित हासिल गरेको हो ।

जारी सिजनको आईपीएलमा राजस्थानको यो छैटौं जित हो भने कोलकाताको सातौं हार । घरेलु मैदानमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले भने १३.१ ओभरमै केवल १ विकेट गुमाएर १ सय ५१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । राजस्थानको जितमा २१ वर्षीय युवा ब्याट्सम्यान यशस्वी जैसवाल नायक बने ।

बायाँ हाते ओपनर ब्याट्सम्यान यशस्वीले अविजित ९८ रन बनाए । उनी केवल २ रनका कारण सतक बनाउनबाट चुके । क्रिजमा प्रवेश गरेदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका यशस्वीले केवल ४७ बलको सामना गरी ५ छक्का र १२ वटा चौका पनि हिर्काए ।

६२ मिनेटमा क्रिजमा टिकेका यशस्वीले अर्का ओपनर जस बट्लरसँग ओपनिङ विकेटका लागि ३० रनको साझेदारी गरे । रमाइलो पक्ष त के हो भने, बट्लर शून्य रनमै पेभेलियन फर्किएका थिए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले केवल ३ बलको मात्र सामना गर्न पाए । यशस्वी म्यान अफ दि म्याच पनि घोषित भए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान संजु सामसनले पनि टोलीका लागि अविजित ४८ रनको योगदान गरे । उनी पनि केवल २ रनकै कारण अर्धशतक पूरा गर्नबाट चुकेका थिए । विकेटकिपर ब्याट्सम्यान सामसनले केवल २९ बलको सामना गरी ५ छक्का र २ चौका प्रहार गरे ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाताका लागि वेंकटेश ऐयरले अर्धशतकीय पारी खेलेका थिए । उनले ५७ रन बनाए । ४२ बलको सामना गरेका वेंकटेशले ४ छक्का र २ चौका पनि प्रहार गरेका थिए ।

कप्तान नितेश राणा २२ रनमा आउट भए । कोलकाताका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । राजस्थानका बलर युजवेन्द्र चाहलले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट हात पारे ।

हालसम्म १२ खेल खेलेको राजस्थान १२ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राजस्थानले ६ जित र ६ हारको नतिजा निकालेको छ । कोलकाता भने १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । कोलकाताले ५ जित र ७ हारको नतिजा निकालेको छ ।

Comments are closed.