जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म सुरु, दैनिक ६ पटक सेवा

काठमाडौँ । जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा महोत्तरीको भंगहासम्म चल्ने भएको छ । रेल आजदेखि भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको हो ।

ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुनेछ । रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । मन्त्री ज्वालाले ले बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुनेछ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए । यद्यपि भंगहा स्टेशनमा भने दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।