झापा । पूर्वीय कला, संस्कृति र पहिचानको संरक्षणका लागि बहुजातीय सङ्ग्रहालय र नाट्य कला मन्दिर स्थापनाको लक्ष्य बोकेर झापाको ‘क्षितिज नाट्य प्रतिष्ठान’ सहयोगको याचना गर्दै सङ्घीय राजधानी पुगेको छ ।
बिर्तामोड नगरपालिका–१ मा दाताबाट प्राप्त सात कठ्ठा पाँच धुर जग्गामा निर्माणाधीन नाट्य कला मन्दिर आर्थिक अभावले अलपत्र भएपछि सङ्घीय सरकारसँग सहयोग माग्न काठमाडौँ जानुपरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए ।
कोशी प्रदेशको विभिन्न जिल्लामा शाखासमेत सञ्चालन गरिरहेको प्रतिष्ठानमा आबद्ध करिब छ सय कलाकार रङ्गकर्ममार्फत सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छन् ।
आफ्नो कला बेचेर बाँच्नका लागि प्रदेशमै सुविधासम्पन्न नाट्यघर र बहुजातीय सङ्ग्रहालय सञ्चालन गर्ने प्रतिष्ठानको अभियान छ । विगत चार वर्षदेखि यिनै दुई कामका लागि सहयोग जुटाउन प्रतिष्ठानले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ढोका ढक्ढक्याइरहेको छ ।
“हामीले सरकारसँग धेरै मागेकै छैनौँ”, प्रतिष्ठानका अध्यक्ष कल्पितले राजधानीसम्म पुग्नुपर्ने कारण बताउँदै भने, “सबै जातजाति र भाषाभाषीको संस्कृति र पहिचान झल्काउने एउटा बहुजातीय सङ्ग्रहालय बनाउँछौँ भनेका छौँ । अनि अर्कोचाहिँ आफ्नो कला देखाउने ठाउँ नपाएर नाट्यकर्मी दुःखी छन् । एउटा सुविधासम्पन्न नाट्यघर बनाउन सहयोग गरिदिनुपर्यो भनेका छौँ ।”
विसं २०५८ मा स्थापित प्रतिष्ठानले २०७५ असार ११ गतेदेखि व्यक्तिहरूसँग एक थान इँटा बराबरको रु १५ सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । यही अभियानबाट बिर्तामोडमा रु दुई करोडको नाट्य कला मन्दिर निर्माण थालिएको र एक धुर जग्गा सहयोग अभियानबाट सात कठ्ठा पाँच धुर जग्गा प्राप्त भइसकेको अध्यक्ष कल्पितले जानकारी दिए ।
उनका अनुसार नाट्य कला मन्दिर आर्थिक अभावले अधुरै छ भने रु २५ अर्बको लागत अनुमान गरिएको बहुसांस्कृतिक सङ्ग्रहालयको निर्माण अझै सपनाजस्तै बनेको छ । सङ्ग्रहालय निर्माणपछि त्यहाँ बाह्य तथा आन्तरिक पर्यटकको ठूलो सङ्ख्या आकर्षित हुने उनको धारणा छ ।
नाट्य कला मन्दिर र सङ्ग्रहालय निर्माण परियोजना अलपत्र पर्ने सम्भावना बढेपछि झापाली कलाकारको टोली नै लिएर अध्यक्ष कल्पित राजधानी काठमाडौँ पुगेका हुन् । काठमाडौँमा एक साता रहँदा सिंहदरबारमा पसेर मन्त्रीलाई आफ्नो माग सुनाउने उनीहरूको चाहना पूरा भएको छैन ।
“वडामा गयो, नगरपालिकामा जानु भनेर पठाउँछन्”, गुनासो पोख्दै अध्यक्ष कल्पित भन्छन् “नगरमा गयो बजेट छैन, प्रदेशमा जानु भनेर सुझाव दिनुहुन्छ । प्रदेशमा जाँदा यहाँ त केही बजेटै हुँदैन, बरु सङ्घीय सरकारमा पुग्नुभयो भने केही उपलब्धि होला भन्नुहुन्छ । सङ्घीय सरकारमा पुग्नै सकिएन । आफ्नो दुःखेसो सुनाउनै पाएका छैनौँ ।”