काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास सूर्यकिरणको १८औं संस्करण आजदेखि सुरु भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको साे अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले शुभारम्भ गर्नुभएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएकाे छ ।
अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा कुल ६ सय ६८ जना सैनिकहरु सहभागी छन् । संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने निर्देशनालयले जनाएकाे छ ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको १७औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । ०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।
अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायत विषयमा २ देशका सैनिकहरुले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्नेछन् ।
यस किसिमको सैनिक अभ्यासले २ देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।