कोलकाताले जित्यो आईपीएल-२०२४ को उपाधि

१० वर्षपछि तेस्रो पटक आईपीएल च्याम्पियन
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । कोलकाताले फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।कोलकाता तेस्रो पटक आईपीएलको च्याम्पियन बनेको छ । उसले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।
चेन्नईस्थित चेपोक मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सक्यो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो । कोलकाताले १० दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो । फाइनलमा मिचेल स्टार्क प्लेयर अफ दि फाइनल भए । उनले २ विकेट लिएका थिए भने २ क्याच पनि समातेका थिए । कोलकाताका सुनिल नारायण प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए भने एडेन मार्करामले २० रनको इनिङ खेले । अभिषेक शर्मा २, ट्राभिस हेड शून्य र राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश रेड्डी १३ रन र हेनरिक क्लासेन १६ रन बनाएर प्याभिलियन फर्किए । कोलकाताका आन्द्रे रसेलले ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान २-२ विकेट लिए ।
जवाफमा कोलकाताका ५७ बल बाँकी रहँदै जित दर्ता गर्यो । भिंकटेश अय्यरले २६ बलमा ५२ रनको अविजित अर्धशतक खेले । रहमानउल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले एक-एक विकेट लिए । योसँगै लगातार सातौं सिजन क्वालिफायर-१ को विजेताले उपाधि जित्न सफल भयो ।कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।