काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले केपी शर्मा ओली देशलाई नयाँ युगमा प्रवेश गराउने महानायक भएको बताउनुभएको छ ।
बिहीबार मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा पर्वतको कुस्मामा आयोजित सभामा सो जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका गिरीले जिल्लाको अवस्था बारे अभियानको टोलीलाई जानकारी गराउँदै गराउने क्रममा ओली समृद्ध नेपाल सुखी नेपालको स्वप्नद्रष्टि नेता भएको बताउनुभयो । ‘केपी ओली यो देशलाई एउटा नयाँ युगमा रूपान्तरण गर्ने महान् नायक, महान् नेता’, उहाँले भन्नुभयो ।
केपी ओली प्रधानमन्त्री हुँदा पर्वतमा सुरु गरिएका विकासका सबै योजना वर्तमान गठबन्धन सरकारले अलपत्र पारेको गिरीले बताउनुभयो । कालीगण्डकी करिडोरको काम सरकारले ठप्प पारेको भन्दै उहाँले एमाले अध्यक्षको ध्यानाकर्षण गराउनुभयो । काम भइरहेको सडकको समेत सरकारले भुक्तानी नदिँदा काम रोकिएको उहाँले जानकारी गराउनुभयो । संघीय सरकारले विगतमा विभिन्न सडकमा छुट्याएको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको भन्दै उहाँले त्यसमा ध्यान दिन एमाले अध्यक्ष ओलीलाई अनुरोध गर्नुभयो ।
सुरुङ मार्गको अध्ययनको लागि एमालेको सरकारले बजेट विनियोजन गरेको भए पनि अहिलेको सरकारले सो काम समेत रोकेको उहाँले बताउनुभयो । गाउँ गाउँमा अस्पताल निर्माणको लागि छुट्याएको बजेट सरकारले रोकेको उहाँले जानकारी दिनुभयो । पर्वतको फालमा खानीको उत्खननको लागि छुट्याएको बजेट पनि वर्तमान सरकारले रोकेको उहाँले बताउनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मीक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली संकल्प यात्रामा छ । सोही क्रममा कुस्मामा आयोजित कार्यक्रममा गिरीले टोलीलाई जिल्लाको अवस्था बारे जानकारी गराउनुभएको हो ।