३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय कानुनहरू निर्माणमा सरकार सक्रिय रूपमा लागिरहेको बताउनुभएकाे छ ।शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपछि संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको दाबी गर्नुभयाे । उहाँलेले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताउनुभयाे । उहाँले संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउनुभयो ।

संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत संघीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू त्यसलाई तोड्न लगातार लागिरहेको दाबी गर्नुभयाे ।

प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको भन्दै उहाँले यसपटक त्यस्तो सोंच र परम्परा तोड्ने संकल्प गरिएको र अब ३ करोड भन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताउनुभयो ।

क्रान्ति र शान्ति दुवैको नेतृत्व आफुहरुले गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई गहिरोगरी बुझ्ने बताउनुभयाे ।