लक्ष्मी र सनराइज बैक असार २८ गतेबाट मर्जर

काठमाडौँ / लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले असार २८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जर पछि बन्ने लक्ष्मी सनराइज बैंकको अध्यक्ष मोतिलाल दुगडको बैंकमा दुई अर्ब भन्दा माथि कर्जा रहेको भन्दै राष्ट्र बैंकले स्वीकृति दिएको थिएन ।

राष्ट्र बैंकको अडान पछि बैंक सञ्चालकहरुले दुगडलाई अध्यक्ष नबनाउने भएका हुन् । दुगडलाई अध्यक्ष नबनाउने भए सँगै राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । यदि असार भित्र मर्जर सम्पन्न भएन भने मर्जरको सुविधा नपाउने भएकाले पनि बैंकरहरु अध्यक्ष परिवर्तन गर्न राजी भएका हुन् ।

नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मी बैंकबाट रमन नेपाल, डा।मनिष थापा र स्वाति रुंगटा हुनेछन् । सनराइजबाट बच्चराज तातेड र मालचन्द दुगड हुनेछन् ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह बन्ने छन् । २०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच समान हैसियतको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) हुने गरी मर्जमा जान समझदारी भएको थियो .