पहिरोले २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५ पक्की पुलमा क्षति

जम्मा १६५ मध्ये १०३ वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालन
काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशभरका २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले पाँचवटा पक्की पुलमा क्षति पुर्याएको छ ।कुल १६५ मध्ये एक सय तीनवटा राजमार्ग एकतर्फी रुपमा चलेका छन् । उत्तर-दक्षिण कोशी सडक आयोजनाअन्तर्गतको खाँदबारी किमाथांका सडक पहिरोका कारण अवरुद्ध छ । त्यस्तै लमजुङको डुम्रे-बेंसीसहर-चामे सडकमा हिजोदेखि नै यातायात आवागमन बन्द छ ।
कालीगण्डकी लोकमार्गको तानसेन-रिडी-कोराला खण्डमा ठाउँ-ठाउँमा पहिरो गएको छ । अरनिको राजमार्गको दोलालघाट-खाडीचौर-कोदारी खण्ड पनि पहिरोले अवरुद्ध भएको सडक विभागका उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिनुभयो ।
यस्तै जुम्लाको मान्मा-नाग्मा सडक खण्ड पनि पहिरोले अवरुद्ध छ । धनकुटाको भेडेटार-रवि-राँके सडक खण्डमा पनि सवारीसाधन चल्न सकेका छैनन् । सडक विभागले भने राष्ट्रिय राजमार्गको अवरोध हटाउने काम जारी रहेको जोखिमयुक्त क्षेत्रमा १३५ वटा हेभी इक्विपमेन्ट परिचालन भइरहेको जनाएको छ ।
बाढी र पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्गका तीन, धरानमा एक र खाँदबारीमा एक गरी पाँचवटा पक्की पुलमा क्षति पुगेको छ । गृह मन्त्रालयको कमान्ड सेन्टरसँग सडक विभागकै उपमहानिर्देशकको संयोजकत्वमा गठित समितिले समन्वय गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालको भनाइ छ ।
उहाँका अनुसार अवरुद्ध सडक खुलाउन पर्याप्त इन्धन र चालकसहित हेभी इक्विपमेन्ट, डोजरलाई १० किलोमिटरको दूरीमा तयारी अवस्थामा राखिएको छ । सातवटा प्रदेशमा ३५ वटा बेलिब्रिज राख्ने र राहत सामग्री जिल्लाभित्र ढुवानीका लागि गृह मन्त्रालयसँगको सहकार्यमा काम भइरहेको पनि प्रवक्ता ढकालले जनाउनुभयो ।
सडक विभागले सानातिना पहिरो हटाए पनि ठूला अवरोध हटाउन सकेको छैन । बाढी-पहिरोले सडक र पुलमा मात्रै ९८ करोड रुपैयाँबराबरको क्षति पुर्याइसकेको मन्त्रालयले जनाएको छ ।