काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गर्नुभएकाे छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको महासमिति बैठककाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै सभापति देउवाले यस बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजान सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।
महासमिति बैठकलाई देशभित्र रहेका नेपालीले उत्सुकतापूर्वक हेरिरहेका, अन्तर्राष्ट्रिय जगतकाे पनि चासाेकाे विषय बनेकाे र सञ्चार जगतले पनि महत्व दिएका भन्दै उहाँले पार्टीलाई थप सबल बनाउतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयाे ।
पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउनका लागि अहिले विधान संशोधनबारे आवश्यक छलफल गर्न सकिने सभापति देउवाले बताउनुभयाे । महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै उहाँले यस महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी बैठकमा प्राप्त सुझावलाई समेटेर दस्तावेज तयार गर्ने बताउनुभयाे ।
भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले निर्णय गर्नु उपयुक्त नहुने भन्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताउनुभयाे । पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकता लगायत विषयमा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने सभापति देउवाले बताउनुभयाे ।
विगतमा संसद् विघटन जस्ता गतिविधि देखिएपछि संविधानकाे रक्षाका लागि कांग्रेसकै पहलमा गठबन्धन सरकार बनेकाे भन्दै उहाँले अहिलेकाे सरकार त्यसैकाे निरन्तरता भएकाे बताउनुभयाे ।
कांग्रेस अहिले देशकै ठूलाे पार्टी बनेकाे भन्दै उहाँले कांग्रेस जनताले आशा र भराेसा गरेकाे पार्टी भएकाे बताउनुभयाे । जनताकाे आशा र भराेसालाई ताेड्न नहुनेतर्फ सभापति देउवाले सचेत गराउनुभयाे ।
मुलुकलाई संकट पर्दा कांग्रेसले निकास दिँदै आएकाे दाबी गर्दै सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै सम्झौता नगर्ने दृढताका कारणले नै यो पार्टी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएको बताउनुभयाे । नेपालकाे वर्तमान संविधान कांग्रेसकाे पहलमा निर्माण भएकाे दाबी गर्दै उहाँले संविधानकाे सुरक्षा र कार्यान्वयनमा दृढ रहेकाे बताउनुभयाे ।
जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य नहुने उहाँले बताउनुभयाे । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेमा नेपाली कांग्रेस दृढ रहेको सभापति देउवाले बताउनुभयाे । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने उहाँले बताउनुभयाे ।
विश्वनै आर्थिक मन्दीकाे अवस्थामा रहेकाे र नेपाललाई पनि प्रतिकूल प्रभाव परेकाे भन्दै उहाँले दशकाे अर्थतन्त्र क्रमश: सुधार हुँदै गइरहेकाे बताउनुभयाे ।
कांग्रेसले सधैं संवाद, सहमति र सहकार्यकाे नीति अबलम्बन गरेकाे भन्दै सभापति देउवाले राजनीतिक दलमा प्रतिष्पर्धा हुनु स्वभाविक भएपनि देशकाे सार्वभाैमिकता, अखण्डता, लाेकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका कुरामा समान धारणा हुनुपर्ने बताउनुभयाे ।
शान्ति पक्रियाका बाँकी काम पूरा गर्न सबै दलसँग निरन्तर संवाद र सहमति गरिने सभापति देउवाले बताउनुभयाे ।