विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन

काठमाडौं- यती विमान दुर्घटनामा ज्यान गुमाएका चिकित्सकसहित मृतकको सम्झनामा दिप प्रज्वलन गरिएको छ।

विराटनगरको विराट मेडिकल कलेजमा दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो।

यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको थियो।

पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।

यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।

Comments are closed.