पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ ।

 

पुुराना लेखक कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु भए पनि नवोदित लेखकका रचनालाई स्थान दिने र उनीहरुलाई सम्मान दिने संस्था र सञ्चारमाध्यमहरू नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुरु गरेको जनाएको छ । नयाँ लेखकलाई भाषा र साहित्यको क्षेत्रमा लाग्न प्रेरणा दिने उदेश्यले एक लाख रुपैयाँको नगदका साथमा ताम्रपत्रसहित सार्वजनिक सम्मान गर्न लागिएको हो ।

 

साहित्यपोस्टले गएको वर्षदेखि यो अभियान सुरु गरेको हो । अघिल्लो वर्ष एक जना लेखक र उक्त लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप केदार वाशिष्ठको पहिलो कृति ‘नेपाल विद्या’लाई ५० हजार नगदका साथ ताम्रपत्रले विभूषित गरेको थियो ।

 

प्रधानसम्पादक कोइरालाका अनुसार योपटक वर्षभरि निस्किएका काव्य (कविता, गजल, मुक्तक, हाइकु आदि सङ्ग्रहबाट एकजना कवि र गैरकाव्य सङ्ग्रह कथा, उपन्यास, निबन्ध, नियात्रा, नेपाली भाषा र साहित्यसम्बन्धी अध्ययन अनुसन्धानात्मक कृतिहरु आदि मध्येबाट एकजना स्रष्टालाई ५०–५० हजार नगदका साथ सम्मान गर्न लागिएको हो ।

 

पहिलो पुरस्कार साहित्यपोस्ट उत्तम काव्य पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ ।

‘ दोस्रो पुरस्कार साहित्यपोस्ट उत्तम कृति पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो

साहित्यपोस्ट व्यवस्थापन समूहका अनुसार लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशन भएका कृतिलाई यसमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तकको दर्ता अनिवार्य छैन तर लेखक वा प्रकाशकले आफ्नो पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारी भने दिनुपर्नेछ ।

 

पुरस्कारको पहिलो सर्ट लिस्ट २०७९ साल वैशाख ५ गतेसम्म तयार हुनेछ । दोस्रो सर्ट लिस्ट २०७९ साल वैशाख १० गते र तेस्रो सर्ट लिस्ट वैशाख १५ गते निकाल्ने योजना छ । कुनै प्राविधिक समस्या नआए पुरस्कार वितरण तथा सम्मान कार्यक्रम वैशाख २५ गते साहित्यपोस्टको वार्षिक उत्सवका दिन गरिने योजना रहेको साहित्यपोस्ट व्यवस्थापन समितिले जनाएको छ ।