खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

दार्चुला — अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव खलंगामा सुरु भएको छ ।

साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । १३ जेष्ठ,२०७९ शुक्रबारबाट महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन सत्रमा जिल्लाका स्थानीय मौलिक संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएका छन् । साहित्य महोत्सवमा स्थानीयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरूको प्रस्तुत चलिरहेको छ । खलंगास्थित खुलामञ्चमा साहित्यकार, लेखक तथा स्रष्टाहरूको उपस्थितिमा विभिन्न रचनाहरू वाचन भइरहेका छन् ।

उद्घाटनसत्रमै आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीको अंग्रेजी संस्करण ‘एटलान्टिकका भंगालाहरू’ र लोकेन्द्रबहादुर र नरेन्द्रसिंह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरू’ पुस्तकको विमोचन गरिएको छ । आयोजकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीलाई अभिनन्दन गरिएको आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीले जानकारी दिए ।

हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा दार्चुलाको कला, संस्कृति र साहित्यको पहिचान तथा उत्थान गर्न बृहत् साहित्यिक महोसत्व आयोजना गरिएको सल्लाहकार धामीले बताए । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीहरूको प्रदर्शनी, जिल्ला स्तरीय माध्यमिक तह (९-१२) कविता प्रतियोगिता अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरुको प्रस्तुति रहने उनले बताए ।