२०८०, चैत १७, इलाम इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ । लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, इलाम समाज काठमाडौंका अध्यक्ष हुनुहुन्छ । यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित हुनुभएको छ । तीनैजनालाई नगद पन्ध्र हजार राशिसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । उहाँहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मानित गर्नु भएको थियो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’को आयोजना गरिएको हो ।
“पर्यटनका लागि साहित्य” भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहेको छ । महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार , लेखक, राजनीतिकर्मी लगायतको सहभागिता रहेको छ । इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ । कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको छ भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रुपमा रहेको छ ।