द्रव्य शाहको पालाको षडयन्त्र अब चल्दैन, प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुस् : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेसँग कसैको प्रतिस्पर्धा हुन नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशन शुक्रबार उद्घाटन गर्दै ओलीले प्रतिस्पर्धा गर्न नसक्नेले एमाले विरुद्ध षडयन्त्र गरेका बताउनुभयो । ‘प्रतिस्पर्धा गर्न नसके पछि षडयन्त्र गर्नुपर्छ’, ओलीले भन्नुभयो ।

ओलीले क्षमता बढाएर प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । अब गोराखाको घलेहरूको दौडका विरुद्ध शाहहरूले गरेको षडयन्त्र जस्तो षडयन्त्र नचल्ने उहाँले बताउनुभयो । ‘द्रव्य शाहको पालाका षडयन्त्रले आज सफलता प्राप्त हुँदैन, प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेले नयाँ नयाँ सिर्जनात्मक शैली अपनाएर आन्दोलन अघि बढाइरहेको ओलीले बताउनुभयो । अन्य राजनीतिक दल त्यसैको पछि पछि लागेका ओलीको भनाइ छ ।

नेपाल जीवनमय देश भएको र नेपाली विद्वान पुर्खाका सन्तान भएका ओलीले बताउनुभयो । यस्तो देशमा विकास गर्न नसकिने केही नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीसँग छ, हामी विकास गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

सामाजिक र राजनीतिक उद्यमशीलताले आर्थिक उद्यमशीलतालाई पनि अघि बढाउने उहाँले बताउनुभयो । उद्यमशीलता विकास गर्न नसक्दा व्यवस्थापनको विषय उठ्ने गरेको उहाँको भनाइ छ ।

ओलीले सामाजिक सञ्जालमा अनावश्यक कुरा गरेर समय खर्च नगर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाललाई भ्रम चिर्न र जागरणको लागि हस्तक्षेप गर्न निर्देशन दिनुभयो । सामाजिक सञ्जालमा बेठिकका विरुद्ध र ठिकको पक्षमा सक्रियता र हस्तक्षेप बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।