जापान पठाइदिने भन्दै ८० लाख ठग्ने मनुमाया पक्राउ

तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास-१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मंगलबार पक्राउ परेकी हुन् ।
थापाले भीमाद नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षिया रूपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैंक खातामा पैसा जम्मा गर्न लगाएर ७९ लाख ९७ हजार ९१९ लिएकी थिइन् ।
प्रहरीले उनको साथबाट चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, ‘ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’