काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरू आफूसँग रिसाएको बताएका छन् ।
काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरूको काज फिर्ता गराउन सफल भएको बताए ।
उनले आफूसँग रिसाएका नेताहरू दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए । मन्त्री बस्नेतले देशभरि स्वास्थ्यका भवनहरू शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाई छ
मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडी बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाई छ ।
मन्त्री बस्नेतले भने ‘आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा तीन वटा कुरा चाहियो । भवन, दक्ष जनशक्ति र उपकरण चाहियो । तीन वटै क्षेत्र लथालीगं छ । २०५४ सालदेखि दरबन्दी बढाइएको अवस्था छैन । म २२ वर्ष अगाडी आउँदा ३३ हजार कर्मचारी थिए । अहिले घटेर ३१ हजार भएको छ । स्वास्थ्यको क्षेत्रमा एक चौथाइ कर्मचारी भएको हुनाले एक जनाले चार जनाको भाग खपाएर काम गर्नुपर्छ । जति मरिमेटे पनि शतप्रतिशत गुणस्तरीय हुने अवस्था छैन । त्यसका लागि दरबन्दीको कुरा आयो । म आएपछि अस्थायी दरबन्दी भटाभट बढाउने काम सुरु भएको छ । यही हो भने अस्पताल चल्ने अवस्था छैन भनेको पनि छु । स्थायी दरबन्दी अगाडी बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया सुरु गरेर सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय अर्थ मन्त्रीज्यु लगायत जो जो सँग कुरा गर्नुपर्ने हो मैले गरिसके । दरबन्दी यसैसालबाट थप्ने परिस्थिति बनी सकेको छ । आठ सय भन्दा बढी कर्मचारी काजमा । म भन्दा पनि माथि माथिको पहुँचमा काजमा बसेका । तपाईँहरूलाई आश्चार्यपनि लाग्न सक्ला मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भयै पनि भेटियो । औषधि खुवाको खुवाई, चिठ्ठी लेख्या लेख्यै । अनि यहीँ बस्ने कहीँ नजाने । १६ वर्षसम्म, कोही कसैले हटाउन सकेन । म आएको बेला पनि हटाउन सकेको थिएन । मैले आएर ९५ प्रतिशत राफसाफ गर्दिसके । कसैले भन्या कुरा सुनिन, कसैले भनेको कुरा मानिन । सुरुमा धेरै नेताहरू रिसाउनुभयो । अहिले सबै खुसी हुनुभएको छ । किन भने गाउँ गाउँमा दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुग्नुभयो । अहिले हामीलाई चानचुन २९ हजार त नर्सिङ चाहिन्छ । झन्डै तीन हजारको हाराहारीमा डाक्टर शावहरू चाहिन्छ । देशभरि स्वास्थ्यका भवनहरू शिलान्यास भए उद्घाटन एउटा पनि भएको छैन । भएको छ कहीँ ? छैन । स्वास्थ्यका भवन बनेको ठाउँमा न उपकरण छ न दक्ष जनशक्ति छ । बनेको भवनको पैसा तिर्न सक्ने स्थिति छैन । त्यसमा पनि हार गुहार गरेर केही तिर्न तयार भएका छौँ । केहीलाई प्रक्रियामा राखेका छौँ ।’
स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रूपमा रहेको मन्त्रालय रहेको भन्दै यसलाई चिरफार गरेर मात्रै नहुने भन्दै ठुलै अप्रेसन गर्नुपर्ने बताए ।